तमू धीं दक्षिण कोरियाद्वारा आयोजना गरिएको तमू ल्होसार २०२६ कार्यक्रमका अवसरमा नेपालबाट आमन्त्रित लोकप्रिय गायिका ममता गुरुङ तथा कुशल नृत्यकार एवं कोरियोग्राफर पवित्रा गुरुङलाई कास्की परिवार दक्षिण कोरियाको तर्फबाट सम्मान गरिएको छ।
उक्त सम्मान कार्यक्रम जनवरी ४ तारिख, आईतबार, सउल दोङ्देमुनस्थित होटल स्काईपार्क किङ्सटाउनमा सम्पन्न तमू ल्होसार २०२६ को मुख्य कार्यक्रममा प्रदान गरिएको हो। गीत–संगीत तथा नृत्य–कोरियोग्राफीको क्षेत्रमा पुर्याउनु भएको महत्वपूर्ण योगदानको कदर गर्दै तथा विश्वभर नेपाली विशेषगरी कस्केली समुदायको नाम उच्च राख्न सफल हुनु भएकोमा कास्की परिवार दक्षिण कोरियाको तर्फबाट कलाकारद्वयलाई सम्मान–पत्रसहित नगद सहयोग प्रदान गरिएको हो।
उक्त अवसरमा कास्की परिवार दक्षिण कोरियाका संरक्षक, सल्लाहकार तथा कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। सम्मान कार्यक्रमका क्रममा दोसल्ला संरक्षक परिषद्का सदस्य बुद्धि गुरुङले ओढाइदिनु भएको थियो भने सम्मान–पत्र कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष सन्तोष गुरुङले हस्तान्तरण गर्नु भएको थियो।
कास्की परिवार दक्षिण कोरियाले प्रवासमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा आमन्त्रित कस्केली कलाकारहरूको कलाको सम्मान, हौसला अभिवृद्धि तथा नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि यस्ता सकारात्मक कार्यहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।



