प्रवासमा संस्कृति र सद्भाव प्रवर्द्धन गर्दै : तमु धीं दक्षिण कोरिया ख्याङ्साङ्नाम्दो बुसान शाखाको “छ्याजलो सांगीतिक सौगात–२०२६”

तमु जातिको भाषा, संस्कृति तथा पहिचान संरक्षण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ सन २०१८ मा स्थापित तमु धीं दक्षिण कोरिया ख्याङ्साङ्नाम्दो बुसान शाखा द्वारा कोरियाली नयाँ वर्ष (सलनाल) को शुभ अवसरमा “छ्याजलो सांगीतिक सौगात–२०२६” कार्यक्रम आयोजना गरिने भएको छ।

‘नेपाली कलाकार र गीत–संगीतलाई माया गरौँ, बालबालिकाको उज्ज्वल भविष्यका लागि हातेमालो गरौँ’ भन्ने पवित्र उद्देश्यका साथ अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ आयोजना गरिन लागेको उक्त कार्यक्रम २०२६ फेब्रुअरी १६ तारिख सोमबार का दिन दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म 김해시 활천로 294, 우석홀 은석문화복지센터मा सम्पन्न हुनेछ।

कार्यक्रममा नेपालका चर्चित कलाकारहरू प्रकाश सपुत, शान्ति श्री परियार, मिन गुरुङ र इन्द्रकला राई को विशेष प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूको समेत आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

तमु धीं ख्याङ्साङ्नाम्दो बुसान शाखाले सम्पूर्ण प्रवासी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई सांगीतिक मनोरञ्जनसँगै सामाजिक कार्यमा हातेमालो गर्न हार्दिक अनुरोध गरेको छ।

यसै सन्दर्भमा उक्त कार्यक्रममा कास्की परिवार दक्षिण कोरिया का सम्पूर्ण सदस्यहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन अनुरोध गर्दै औपचारिक निमन्त्रणा प्राप्त भएको छ।

प्रकाशित मिति २९ माघ २०८२, बुधबार १६:२५