सउल, दक्षिण कोरिया –
कास्की परिवार दक्षिण कोरियाको खेलकुद विभाग ‘कास्की एफ.सी.’ लाई नयाँ खेल जर्सी हस्तान्तरण गरिएको छ। मे २ र ३ मा वन्जुमा सम्पन्न बृहत बनभोज कार्यक्रमको अवसर पारेर उक्त जर्सी हस्तान्तरण गरिएको हो।
लुम्बिनी रेस्टुरेन्ट (ख्याङसाङनाम्दो) का सञ्चालक तथा कास्की परिवारका सल्लाहकार श्री परी गुरुङ ज्यूको सौजन्यमा कास्की एफ.सी. का खेलाडीहरूका लागि नयाँ जर्सी उपलब्ध गराइएको हो। कार्यक्रमका बीच सल्लाहकार गुरुङ ज्यूले कास्की परिवारका खेलकुद संयोजक श्री सुवास गुरुङ ज्यू र निवर्तमान खेलकुद संयोजक एवं खेलाडी श्री रुप गुरुङ ज्यूलाई संयुक्त रूपमा जर्सी हस्तान्तरण गर्नुभएको थियो। खेलकुदको माध्यमबाट युवाहरूलाई गोलबद्ध गर्ने र अनुशासित बनाउने संस्थाको अभियानमा सल्लाहकार परी गुरुङ ज्यूले पुर्याउनुभएको यस महत्त्वपूर्ण सहयोगप्रति कास्की परिवारले हार्दिक कृतज्ञता व्यक्त गर्दै विशेष आभार प्रकट गरेको छ।
सो कार्यक्रममा नेपाल फुटबल महासंघका निवर्तमान अध्यक्ष श्री कृष्ण (ब्रो) गुरुङ ज्यूको पनि उपस्थिति रहेको थियो। जर्सी ग्रहण गर्दै खेलकुद संयोजक सुवास गुरुङले यस्ता सहयोगले खेलाडीहरूको मनोबल उच्च हुने र आगामी प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्न थप उर्जा मिल्ने बताउनुभयो।

आगामी जुन १४ मा ‘प्रथम पोखरा कप’ हुँदै
जर्सी हस्तान्तरणसँगै कास्की परिवारले आफ्नो खेलकुद गतिविधि अझ तीव्र बनाउने घोषणा गरेको छ। कास्की एफ.सी. को व्यवस्थापनमा आगामी जुन १४, २०२६ मा दक्षिण कोरियामा ‘प्रथम पोखरा कप’ (1st Pokhara Cup) फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ।
कास्की परिवार अन्तर्गतको खेलकुद विभागले आयोजना गर्न लागेको यो प्रतियोगितामा दक्षिण कोरियाभर रहेका विभिन्न नेपाली फुटबल क्लबहरूलाई सहभागी गराइने लक्ष्य राखिएको छ। खेलकुदको माध्यमबाट नेपाली समुदायलाई जोड्ने र आपसी भाइचारा बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्री सन्तोष गुरुङ ज्यूले जानकारी दिनुभयो।
प्रतियोगिताको स्थान, पुरस्कार राशि र दर्ता सम्बन्धी थप विवरणहरू छिट्टै नै आधिकारिक रूपमा सार्वजनिक गरिने संस्थाले जनाएको छ।
प्रकाशित मिति २३ बैशाख २०८३, बुधबार १६:१७
