कास्की परिवार दक्षिण कोरिया को आयोजनामा जुन १४ मा ‘प्रथम पोखरा कप फुटसल प्रतियोगिता २०२६’ हुनेः मुख्य प्रायोजकमा महारानी रेष्टुरेन्ट 평택

सउल, दक्षिण कोरिया।

दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायहरूबीच खेलकुदका माध्यमबाट आपसी भ्रातृत्व, सद्भाव र सांगठनिक एकता अभिवृद्धि गर्ने उद्देश्यका साथ कास्की एफसीको प्रस्तुति तथा कास्की परिवार दक्षिण कोरियाको आयोजनामा आगामी जुन १४, २०२६ का दिन “प्रथम पोखरा कप फुटसल प्रतियोगिता” को भव्य आयोजना हुने भएको छ। नेपाल फुटबल महासंघ दक्षिण कोरियाको मुख्य सहजीकरण तथा दक्षिण कोरियाको फेन्थेक (평택) स्थित प्रसिद्ध नेपाली स्वादको संवाहक महारानी रेष्टुरेन्ट को मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको यो प्रतियोगिता छनान् म्याचअप फुटसल फिल्ड (천안시 동남구 신방동 645-1) मा ऐतिहासिक रूपमा सम्पन्न हुनेछ।

“एकता हाम्रो पहिचान, स्वास्थ्य हाम्रो अभियान!” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस पटकको पोखरा कप केवल एक खेलकुद प्रतियोगिता मात्र नभएर दक्षिण कोरियामा नेपाली खेलकुदको विकासलाई दीर्घकालीन रूपमा अगाडि बढाउने एउटा वृहत् सामाजिक अभियान समेत हो। प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदका गतिविधिहरूलाई दिगो बनाउन र भविष्यमा खेलाडीहरूको प्रोत्साहन तथा भैपरी आउने सामाजिक आवश्यकताहरूलाई सम्बोधन गर्नका लागि एउटा स्थायी “खेलकुद कोष” को स्थापना र संस्थाको मूल कोष अभिवृद्धि गर्नु रहेको कास्की परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष सन्तोष गुरुङले जानकारी दिएका छन्।

प्रतियोगितालाई बढी अनुशासित, व्यवस्थित र भव्य बनाउनका लागि यस पटक कोरियाभरि छरिएर रहेका नेपाली क्लबहरूमध्ये न्यूनतम ३५ भन्दा बढी टिमहरूको सहभागिता गराउने लक्ष्य आयोजक समितिले राखेको छ।

प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गर्ने टोली र खेलाडीहरूका लागि आकर्षक पुरस्कार राशीको व्यवस्था गरिएको संस्थाका खेल संयोजक तथा कार्यक्रम संयोजक सुवास गुरुङले बताएका छन्। उनका अनुसार प्रतियोगिताको प्रथम विजेता टोलीले नगद ३५,००,००० (३५ लाख) कोरियन वोन सहित भव्य ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद २०,००,००० (२० लाख) कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी सेमिफाइनलिस्ट दुई टोलीलाई जनही ४,००,००० कोरियन वोन प्रदान गरिनेछ भने खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने विधातर्फ उत्कृष्ट खेलाडी (Best Player), उत्कृष्ट गोलरक्षक (Best Keeper) र सर्वाधिक गोलकर्ता (High Scorer) लाई जनही १,००,००० कोरियन वोनसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मानित गरिनेछ।

प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ३,५०,००० कोरियन वोन निर्धारण गरिएको छ भने टिम दर्ता गर्ने अन्तिम मिति आगामी जुन ७, २०२६ तारिख साँझ ५:०० बजेसम्म मात्र रहने संस्थाका महासचिव चिरञ्जीवी केसी (रोहन) ले जानकारी दिएका छन्।

टिम दर्ताका लागि हाना बैंक (Hana Bank) को खाता नम्बर ८४०९१०००९८४९०४ (खातावालाको नाम: 카스키 패밀리 코리아) उपलब्ध गराइएको छ र रकम स्थानान्तरण गरेपश्चात अनिवार्य रूपमा स्क्रिनशट पठाउन आयोजकले आग्रह गरेको छ।

महारानी रेष्टुरेन्ट फेन्थेक (평택) को मुख्य प्रायोजन, MULTI CONSULTANT (NSER KOREA) तथा लुम्बिनी रेष्टुरेन्ट एण्ड बारको विशेष प्रायोजनमा हुन लागेको यस ऐतिहासिक खेलकुद महोत्सवलाई सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, फुटबल क्लब, खेलाडी तथा खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खेलको गरिमा बढाउन र खेलाडीहरूलाई हौसला प्रदान गर्नका लागि उपस्थितिको लागि कास्की परिवार दक्षिण कोरिया हार्दिक हार्दिक अनुरोध गर्दछ।

कास्की परिवार दक्षिण कोरिया, खेलकुद समितिद्वारा प्रचार-प्रसारका लागि प्रकाशित।

प्रकाशित मिति १६ जेष्ठ २०८३, शनिबार १७:२४