सउल, दक्षिण कोरिया-
कास्की परिवार दक्षिण कोरियाको आयोजनामा यही आउँदो जुन १४ तारिख हुन गइरहेको बहुप्रतिक्षित “प्रथम पोखरा फुटसल कप २०२६” को टाई-सिट (Tie-Sheet) ड्र कार्यक्रम फेन्थेक स्थित महारानी रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रम कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष श्री सन्तोष गुरुङ ज्यू को सभापतित्वमा सञ्चालन भएको थियो भने कार्यक्रमको आधिकारिक सञ्चालन संस्थाका महासचिव श्री चिरञ्जीवी (रोहन) केसी ज्यू ले गर्नुभएको थियो।
दक्षिण कोरियामा रहेका नेपाली फुटबल क्लबहरू माझ निकै ठूलो आकर्षण र प्रतिष्ठा कमाएको यस प्रतियोगितामा कुल ३८ टिमको ऐतिहासिक सहभागिता रहने सुनिश्चित भएको छ। आज सम्पन्न टाई-सिट ड्र मार्फत ती सम्पूर्ण ३८ टिमहरूको खेल तालिका र प्रतिस्पर्धाको खाका तयार पारिएको छ।
खेलकुद र समुदायको प्रतिनिधित्व गर्दै कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो:
प्रमुख अतिथि: नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाका अध्यक्ष श्री हर्क बिष्ट ज्यू
बिशेष अतिथिहरू: गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष श्री नर कुमार गुरुङ ज्यू, नेपाल फुटबल महासंघ दक्षिण कोरियाका का.बा. महासचिव श्री राजकुमार सुनुवार ज्यू, संस्थाका प्रमुख संरक्षक श्री खोम प्रसाद गुरुङ ज्यू, कार्यक्रम संयोजक श्री सुवास गुरुङ ज्यू, वरिष्ठ सल्लाहकार श्री सन्तोष पौडेल ज्यू, मुख्य प्रायोजक (महारानी रेस्टुरेन्ट) का सञ्चालक श्री मन्जु थापा ज्यू
अतिथिहरू: मादी गाउँपालिका संयोजक तथा कास्की एफसीका खम्बा श्री रुप गुरुङ ज्यू, कोरियाको नेपाली फुटबल जगतमा स्थापना कालदेखि नै सक्रिय र आफ्नो छुट्टै पहिचान बनाउन सफल खेलाडी श्री रमेश गुरुङ ज्यू।
त्यसै गरि कार्यसमितिका सदस्य श्री ध्रुव गुरुङ ज्यू, कास्की एफसीका सदस्य श्री सरोज अधिकारी ज्यू, उदयमान खेलाडी श्री युडी पुन ज्यू लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। ३८ टिमको सहभागिताले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने विश्वास लिइएको छ। आयोजक समितिले खेललाई निष्पक्ष, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको जानकारी दिँदै दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण खेलप्रेमी नेपाली समुदायलाई जुन १४ का दिन मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिन हार्दिक निमन्त्रणा समेत गरेको छ।
विशेष नोट: आज ३८ टिमबीच तय भएको टाई-सिटको विस्तृत विवरण (कुन टिम कुनसँग कुन समयमा भिड्दै छन् भन्ने खेल तालिका) छिट्टै नै आधिकारिक रूपमा प्रकाशित गरिनेछ।
प्रकाशित मिति २५ जेष्ठ २०८३, सोमबार ०८:४४
