दक्षिण कोरियामा नेपालका प्रख्यात चिकित्सकहरू सम्मानित।

सउल, दक्षिण कोरिया

अन्तर्राष्ट्रिय मेडिकल कन्फरेन्स (International Medical Conference) मा सहभागी हुन दक्षिण कोरिया आउनुभएका नेपालका स्थापित एवं प्रख्यात चिकित्सकहरू सम्मानित हुनुभएको छ।

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको मुख्य आयोजनामा सउलमा सम्पन्न एक भव्य स्वागत तथा सम्मान कार्यक्रमका बीच नेपालका विशिष्ट चिकित्सक टोलीलाई उच्च कदरसहित सम्मान गरिएको हो।

सम्मानित हुनेहरूमा पोखरा स्थित मेडीप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा कार्यरत वरिष्ठ परामर्शदाता फिजिसियन तथा सह-प्राध्यापक डा. सरोज पोखरेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रेखा पौडेल र झापामा कार्यरत चिकित्सक डा. शरद भट्टराई हुनुहुन्छ।

चिकित्सा क्षेत्रमा उदाहरणीय सेवा प्रदान गर्नुका साथै विगतमा गण्डकी प्रदेश समाजद्वारा सञ्चालित गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम मा निःस्वार्थ रूपमा प्राविधिक तथा विधागत परामर्श सेवा प्रदान गरी प्रवासमा रहेका नेपालीहरूको स्वास्थ्य रक्षामा पुर्‍याउनु भएको अतुलनीय योगदानको कदर स्वरूप उहाँहरूलाई यो सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा डा. सरोज पोखरेल, डा. रेखा पौडेल र डा. शरद भट्टराईलाई मायाको चिनो तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो।

सोही अवसरमा उहाँहरूको सम्मान र स्वागतमा ऐक्यबद्धता जनाउँदै कास्की परिवार दक्षिण कोरियाले पनि तीनै जना चिकित्सकहरूलाई विशेष सम्मान गरेको थियो। कास्की परिवारले आफ्ना जिल्लाबासी चिकित्सकद्वय डा. पोखरेल र डा. पौडेललाई दोसल्ला ओढाएर छुट्टै विशेष सम्मान पत्र (फ्रेम) अर्पण गरेको थियो भने डा. शरद भट्टराईलाई समेत आत्मीय कदर गर्दै दोसल्ला ओढाएर विशेष सम्मान व्यक्त गरेको थियो।

कार्यक्रममा कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष सन्तोष गुरुङ, प्रमुख संरक्षक खोमप्रसाद गुरुङ, संरक्षक परिषद सदस्य प्रविण गिरी, संरक्षक परिषद सदस्य बुद्धी गुरुङ, सल्लाहकार लक्ष्मी गुरुङ सल्लाहकार पुष्प भण्डारी एवं वरिष्ठ उपाध्यक्ष कपिल अधिकारी लगायत कार्यसमितिका प्रतिनिधिहरूले नेपालको स्वास्थ्य क्षेत्र र समाजमा विशिष्ट योगदान पुर्‍याएका चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय मेडिकल कन्फरेन्सको अवसर पारेर प्रवासमा सम्मान गर्न पाउनु गौरवमय क्षण भएको बताउनुभयो।

सम्मान ग्रहण गरेपछि मन्तव्य राख्दै सम्मानित चिकित्सकहरूले प्रवासमा रहेर पनि नेपाली समुदायले देखाएको यो अगाध माया, राष्ट्रियता र सम्मानले थप ऊर्जा मिलेको बताउँदै आगामी दिनमा पनि प्रवासी नेपालीहरूको स्वास्थ्य र हितका लागि सदैव सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय मेडिकल कन्फरेन्स तथा सम्मान कार्यक्रममा सहभागी भई चिकित्सक टोली गत हप्ता नै स्वदेश (नेपाल) फर्किसकेको छ।

प्रकाशित मिति ६ असार २०८३, शनिबार १४:२६